प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहमति गर्न प्रधानमन्त्रीलाई सभामुख घिमिरेको आग्रह

काठमाडौं, २ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल नेपाली काँग्रेससँग सहमति गरी संसदको गतिरोध  अन्त्य गर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सभामुख घिमिरेले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गर्दै सहमतिका लागि आह्वान गरिएको हो ।

४५ मिनेटको छलफल संसद अवरोधकै विषयमा केन्द्रित भएको थियो । सभामुख घिमिरेले विधेयक पारित हुन नसकिरहेको बेला संसद अवरोध हुँदा जनस्तरमा वितृष्णा फैलिएको बताएका थिए ।

मंगलबारको संसद बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा अवरोध गरेको थियो । कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले आज सत्तापक्षका नेताहरुको बैठक बस्ने तयारी भएको जानकारी दिंदै भोलि बिहीबार बस्ने संसद बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताएका थिए । प्रतिपक्षिदल नेपाली काँग्रेस आफ्नो मागमा अडिक रहने र सत्तापक्ष पेलेर जाने अवस्था भएकाले मध्यमागी धार ल्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्