एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो ।

हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले सेयर लाभांश र हकप्रद निष्कासनमार्फत चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर वितरण पछि यस कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्