प्रतिनिधिसभा बैठक अवरुद्ध, कांग्रेसको नाराबाजी
काठमाडौं, १ जेष्ठ। सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । त्यसलगत्तै राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक बसेको थियो ।
तर सभामुख देवराज घिमिरेले बैठक सुरु भएको बताएलगत्तै कांग्रेस सांसदहरुले वेल घेराउ गरे । सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताए ।
सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दै उनले अगाडि भने, अध्यादेशलाई पहिलो दिन नै टेबल गर्नुपर्ने व्यवस्था छ । त्यो पनि हामीले गरेका छैनौं ।’
कांग्रेस सांसदहरुले भने संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरे । लगातार नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक स्थगित गरे । अर्को बैठक ३ जेठका लागि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्