राष्ट्रपति उपस्थित हुने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह

काठमाडौं, ३१ बैशाख । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्य गर्न पहल गरेका छन्।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका सभामुख घिमिरेले दिउँसो प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ताघटक रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरेका हुन्।

सरकारले मंगलबार बस्ने संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। सो लगायत विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता देउवा र गृहमन्त्री लामिछानेसँग कुराकानी गरेका हुन्।

‘सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गर्नुभएको छ,’ सभामुखका प्रेस संयोजक शेखर अधिकारीले भने।

सभामुख घिमिरेले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिलसमेत गरेका छन्।

सभामुख घिमिरेसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताए। साथै देउवाले पार्टी संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने जबाफ दिएका छन्।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान राखिरहेको छ। सरकारले समिति गठन नगरे मंगलबारको बैठक पनि अवरोध गर्ने चेतावनी कांग्रेसको छ।

सभापति देउवाले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने सभामुख घिमिरेलाई जानकारी गराएका छन्।

सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने पनि बताए।

साथै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने बताएका थिए।

जबाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने बताए।

सभामुखले सोमबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग पनि छलफल गरेका थिए।

सभामुख घिमिरेले सोमबार नै सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोनमा कुराकानी गर्ने तयारी गरेका छन्।

मंगलबार अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्