सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा आकर्षक बढोत्तरी
काठमाडौं,३१ वैशाख । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने खुद नाफा उल्लेख्य बढेको छ ।
चालु आ.व.को तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा भने ८७.३५ प्रतिशत बढोत्तरी भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस इन्स्योरेन्सले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १४.४१ प्रतिशत बढोत्तरी भएको छ । त्यस्तै खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ९ रुपैयाँ ५३ पैसा पुगेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ ।
३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्