सरकारले संसदीय छानबिन समिति भोलिसम्म बनाउछ भन्ने विश्वास छः कांग्रेस प्रमुख सचेत लेखक

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सोमबारसम्म सरकारले र सत्ता पक्षले संसदीय छानबिन समिति गठन गर्ने विश्वास रहेको बताएका छन्।

सभामुख देवराज घिमिरेले सिंहदरबारमा आइतबार दिउँसो राखेको छलफलपछि लेखकले भने, ‘सत्ता पक्षले संसद अवरूद्ध हुने स्थिति निर्माण गरेर प्रमुख प्रतिपक्षमाथि न्याय गरिराखेको छैन।’

उनले प्रधानमन्त्री र सभामुखसँगका छलफलमा पनि कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कुरा राखेको बताए।

‘भोलि दिउँसोसम्ममा सरकार र सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्ने कुरालाई अगाडि ल्याउने मलाई विश्वास छ,’ लेखकले भने।

लाखौं मानिसहरू सहकारीबाट पीडित भएको र अर्बौं रूपैयाँ ठगी भएकोबारे संसदमा कुरा उठेकोले निकास पनि संसदबाटै खोजिनुपर्ने उनले बताए।

‘संसदकै सदस्य प्रधानमन्त्री र मन्त्री हुनुहुन्छ,’ उनले भने, ‘बल नेपाल सरकारको कोर्टमा छ। बल कसरी सरकारले डिल गर्छ त्यसमा आगामी कार्यक्रम भर पर्छ।’

उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु सँग पनि संसदीय छानबिन समिति गठनकै माग गरिएको उनले बताए। ‘प्रधानमन्त्रीले विकल्प खोज्ने कुरा हो, हामीले आफ्नो कुरा उहाँलाई राखेका छौं। कुन मार्गबाट उहाँले निकास दिनुहुन्छ,’ उनले भने।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्