रविपछि गगन बोल्ने र संसद् अवरुद्ध गर्ने नेपाली कांग्रेसको तयारी

काठमाडौं,२८ वैशाख । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । आज बसेको ने.का.संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्नेछन् । उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्नेछन् ।

सभामुखले रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बैठकमा धारणा राख्न समय दिनेछन् ।

रविको जवाफमा असहमति जनाउँदै कांग्रेस सांसदहरूले उठेर बोल्ने समय माग्नेछन् । सभामुखले बोल्न दिएपछि महामन्त्री गगन थापाले कांग्रेसको धारणा राख्नेछन् । त्यसपछि बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको छ ।

कांग्रेसको आजको बैठकले संसदीय छानबिन समितिलाई बटमलाइन बनाउने निर्णय पनि गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने बताए । यदि छानबिन समिति बनाउनेमा कांग्रेस आशावादी छ ।

 

प्रतिक्रिया दिनुहोस्