बालमन्दिर विवादबारे सीआईबीमा जाहेरी, औपचारिक अनुसन्धान सुरु

काठमाडौं, वैशाख २६ । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) पुगेको छ ।

बालमन्दिरकोतर्फबाट आज बिहीबार जाहेरी परेसँगै सीआईबीले यसको औपचारिक अनुसन्धान सुरु गरेको छ ।

सीआईबी स्रोतले बिहीबार जाहेरी परेको पुष्टि गरे पनि कसको तर्फबाट क(कसलाई विपक्षी बनाउँदै जाहेरी परेको बारे भने केही खुलाएको छैन । ‘जाहेरी परेको हो । अब हाम्रोतर्फबाट औपचारिक अनुसन्धान सुरु गछौं । अहिले नै थप केही बताउन मिल्ने अवस्था छैन,’ सीआईबीका एक उच्च अधिकारीले बताए।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । उक्त जग्गा दुरुपयोग भएको भन्दै अहिले सीआईबीमा जाहेरी परेको हो ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानबा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रुपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार भने बालमन्दिरको तर्फबाट जाहेरी परेसँगै औपचारिक रुपमा अनुसन्धान र मुद्दाको प्रक्रिया बढ्ने सीआईबीले जनाएको छ ।

बालअधिकारसम्बन्धी महासन्धिले उठाएका मुद्दाहरु लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग दाबी गरिएको छ ।

११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्