अझै ठूला उथलपुथल गरेर भए पनि सरकारलाई पाँचै वर्ष चलाइन्छः प्रधानमन्त्री दाहाल

काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनेक गरेर भए पनि आफू नेतृत्वको सरकारलाई पूरै अवधि चलाउने बताएका छन्।

सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास निर्माणलगायत काम भइरहेको बताएका छन्।

‘अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ, दुविधा नरहोस्,’ उनले भने, ‘विकास निर्माण, शिक्षा, स्वास्थ आदि क्षेत्रमा युगान्तकारी काम भएका छन्।’

आफू नेतृत्वको सरकारको काम सन्तोषजनक नभए पनि ठिकै प्रगति गरेको बताएका छन्।

उनले नीति कार्यक्रम र बजेटमा नयाँ भरोसा स्थापित गर्ने प्रयास गरिरहेको र बजेटमार्फत् राहत र विकासको काममा नयाँ सम्बोधन हुने बताएका छन्।

‘आर्थिक अबस्था संकटमुक्त भइसकेको छैन। तर मैले नेतृत्व लिएयता धेरै सकारात्मक परिवर्न भएका छन्,’ उनले भने। आफू नेतृत्वको सरकारले जति काम गरे पनि प्रचार हुन नसकेको भन्दै गुनासो गरेका छन्।

‘खानेपानीका समस्या तत्काल हल गर्दैछौं। मलखाद र उन्नत बिउको समस्या हल गर्दै छौं,’ उनले भने, ‘अरुले हामीले जति गरेको भए हल्ला गरैर सुनी नसक्नु बनाउँथे, हाम्रो अलि प्रचारमा ध्यान पुगेको छैन।’

उनले माओवादी धाराका दलहरुको एकता संयोजन समिति बन्न लागेको जानकारी पनि कार्यकर्ता भेलामा गराएका छन्।

प्रतिक्रिया दिनुहोस्