ललितपुरको बाफलमा आगलागी, एकै घरमा पाँच जना घाइते

काठमाडौं, २३ बैशाख । ललितपुरको बाफलमा भएको आगलागीमा परेर एकै घरमा पाँच जना घाइते भएका छन्।

तीमध्ये तीन जना गम्भीर घाइते छन्। उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

आइतबार बिहान करिब १० बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलमा आगलागी हुँदा उनीहरू घाइते भएका थिए।

घाइतेहरूको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। जस्तापाताले छाएको टहरोभित्र राखेको मोबिलमा आगलागी भएको थियो।

गम्भीर गम्भीर घाइते हुनेमा ८ वर्षीया अलिसा गिरी, ४ वर्षीया प्रिया गिरी र ३५ वर्षीया सञ्जय गिरी छन्। अलिसाको शरीरमा ८० प्रतिशत, प्रियाको १०० प्रतिशत र सञ्जयको ३० प्रतिशत छाला जलेको अफिसर पाठकको भनाइ छ।

सञ्जयकी श्रीमती रूपा गिरी र १५ वर्षीय भतिज मित गिरीलाई आइसियूमा राखेर उपचार जारी छ। रूपाको ६० प्रतिशत र मितको १५ प्रतिशत छाला जलेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार त्‍यस टहरामा पुरानो मोबिल ड्रममा जम्मा गरेर राखिएको थियो। मोबिल के प्रयोजनका लागि राखिएको भन्ने खुलिसकेको छैन।

आइतबार बिहान एक ड्रमबाट अर्कोमा खन्याउने काम भइरहेको थियो। त्यही क्रममा एक बालकले लाइटर बालेका थिए।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको एसपी सुवेदीले बताए।

‘घटनास्थल नजिकै बाइक शोरूम पनि थियो। समयमै नियन्त्रणमा लिएर ठूलो क्षति हुनबाट जोगिएको छ,’ उनले भने, ‘मोबिलमा लागेको आगो पानीले निभाउन गाह्रो हुने भएर पानीमा रसायन मिसाएर नियन्त्रणमा लिएका छौं।’

प्रतिक्रिया दिनुहोस्