राजस्व अनुसन्धानको महानिर्देशकमा आए चक्र बुढा, नवराज ढुंगाना परराष्ट्रमा

२३ वैशाख, काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । नयाँ महानिर्देशकमा चक्रबहादुर बुढा आएका छन् ।

बुढा यस अघि प्रधानमन्त्री कार्यालयमा थिए । बुढालाई राजस्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी सरकारले गरेको छ ।

गत बर्षको असार महिनामा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहिरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा शिखरमा थिए ।

उनलाई राजश्व अनुसन्धानबाट हटाउनुको प्रमुख कारण थियो अमेरिकन आईटी कम्पनी कोटिभिटीविरुद्ध कर छलीको मुद्दा चलाएपछि उनीमाथि निजी क्षेत्रले विभिन्न प्रश्न उठाएका थिए । राजस्व मामिलाको ज्ञान नराखी मुद्दा दायर भएको भन्दै आलोचना भएपछि उनलाई विभाग हटाइएको हो ।

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत रहने निकाय हो । विभाग प्रधामन्त्री कार्यालय मातहत ल्याएपछि पटक–पटक हुने महानिर्देशक परिवर्तनका कारण विभागले राम्रोसँग अनुसन्धानको काम गर्न पाएको छैन ।

ओली सरकारका पालामा राजश्व अनुसन्धान बिभागलाई अर्थबाट तानेर प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि यसको दुरुपयोग बढ्दै गएको छ ।

राजनीतिक नेतृत्वले यो विभागलाई नाजायज ढंगले प्रयोग गर्ने क्रम बढेको निजी क्षेत्रले आरोप लगाउँदै आएको छ । त्यसमाथि पटक–पटक नेतृत्व परिवर्तनका कारण विभाग अपेक्षित कार्य सम्पादन गर्न सकेको छन् ।

विभागको लामो समय नेतृत्व दीर्घराज मैनालीले गरेका थिए, उनले २०७५ जेठदेखि ७७ फागुनसम्म बिभागको नेतृत्व गरेका थिए । त्यसपछि आएका रामप्रसाद आचार्य ७ महिना, उनीपछि प्रकाश पौडेल विभागको नेतृत्वमा आएका थिए उनी ८ महिना महानिर्देशक रहे । त्यस पछि आएका निर्देशकले ५ महिना पनि काम गर्न पाएका छैनन् ।

राजस्व चुहावटमाथि अनुसन्धान गर्ने निकायका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विभाग पछिल्लो दिनमा राजनीतिक नेतृत्वको इसारामा चल्ने गरेको आरोप छ । व्यवसायी र राजनीतिक नेतृत्वको स्वार्थपूर्ति हुन नसक्ने भए महानिर्देशक सरुवा गरिहाल्ने प्रवृत्ति दोहोरिइ रहेको देखिएको छ । यस्ले समग्र अर्थतन्त्रमा दिर्घकालसम्म असर हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्