साधना लघुवित्तको नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढ्यो
काठमाडौं,२१ वैशाख । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६५.८५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.९७ प्रतिशत बढेको छ ।
लघुवित्तको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने २ करोड ५८ लाखबाट घटेर ७ लाख ३५ हजारमा सीमित भएको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ ७७ पैसा बढेर २१ रुपैयाँ ३५ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८ पैसा रहेको छ । वितरणयोग्य मुनाफा २ करोड १९ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६६ पैसा रहेको छ ।
३८ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्