सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद बीमाशुल्क संगै नाफा बढ्यो
काठमाडौं,२१ वैशाख । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्घि गरेको हो ।
चालु आ.व.को तेस्रो त्रयमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशत बढी हो ।
यस अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १०२.२३ प्रतिशत बढेको छ भने कुल खर्च ९३.०९ प्रतिशत बढेको छ ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ ६९ पैसा बढेर २८ रुपैयाँ ३७ पैसा पुगेको छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २६.४४ गुणा र प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा रहेको छ ।
२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्