बुटवलमा उच्च गर्मी, २ दिन विद्यालय बन्द

काठमाडौं, २० बैशाख । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा केही दिनयता तातो हावा चल्न थालेकोले विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० गते बिहीवार र २१ गते शुक्रवारका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उल्लेख छ ।

कक्षा १२ को परीक्षा भने यथावत् रहने उपमहानगरको सूचनामा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाले एक हप्ताअघि नै वैशाख २० गतेसम्म तातो हावा चल्ने जानकारी गराएको थियो । तर, उपमहानगरले १९ गते मात्रै विद्यालय बन्द गर्ने निर्णय गर्नुलाई अधिकांश अभिभावकले ढिला निर्णय भएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्