प्रदूषणबाट पुरै थला परेर निसासिएको पोखरा

काठमाडौं, १९ बैशाख । पोखरा उपत्यकादेखि वरपरका डाँडाहरू समेत तुँवालो, धुँवा र धुलोको कणले ढम्म ढाकेको छ ।

पोखराको न्यूरोडबाटै नजिकै रहेका काहुँडाँडा, सराङकोट, निर्मलपोखरीजस्ता थुम्का देखिन छोडेका छन् । प्रदूषणले आँखा पोलेर पोखाबासी हैरान भएका छन् ।

जानकारीमा आएअनुसार डाँडाकाँडाले घेरिएको कचौरा जस्तो पोखरा उपत्यकामा प्रदूषित हावा बहन नसकेर धुम्म बनेर बसेको छ । जसका कारण आममानिसलाई अत्यन्त समस्या पारिरहेको वायु प्रदूषणमा विद्यावारिधि समेत गरेका नीति तथा योजना आयोग गण्डकीका सदस्य डा. सुवास अधिकारीले बताए ।

पोखराको हावा प्रदूषित हुँदा आँखा पोल्ने समस्याले धेरैलाई अप्ठ्यारो बनाएको छ । नाक, कान घाँटीको समस्याका बिरामी बढेका छन् ।अहिले पोखराको एयर क्वालिटी इन्डेक्स १८५ छ । १०० सम्म ठीकै मानिने भए पनि ५० भन्दामुनि हुँदा हावा स्वस्थ्यकर हुने डा. अधिकारीले बताए ।

‘वर्षा हुनु अगाडिको सुख्खा मौसम छ । फोहोरका कण हावामा फैलिएका छन् । डढेलोका कारण पनि हावामा धुँवा मिसिएको छ । माघ, फागुनमा चिम्निबाट निस्किएका कणहरू पनि पानी नपर्दा वायुमण्डलमै मिसिएर बसेको छ,’ अधिकारीले भने, ‘यसले तापक्रममा पनि असर गरेको छ ।’

तुँवालो, धुलोको कण र धुँवा वायुमण्डलमा ‘ब्लाङ्केट’ बनेर ढाकेको अधिकारीले बताए । ‘यो न्यूनीकरणका लागि कि हावाहुरी चल्नुपर्छ कि ठूलो पानी पर्नुपर्छ,’ अधिकारीले भने ।

धुँवा, धुलो र तुँवालोकै कारण पछिल्लो समय आँखा पोल्ने समस्या धेरैमा देखिएको हिमालयन आँखा अस्पताल प्रमुख डा. इलिया श्रेष्ठले बताइन् । अस्पतालमा धेरै बिरामी आँखा पोल्यो भनेर आइरहनु भएको र यो समस्या बच्चाहरूमा झन् बढी देखिएको श्रेष्ठको भनाइ छ ।

‘आँखा पोल्ने समस्या एक्कासी बढेको छ । अझै भन्नुपर्दा बच्चाहरूमा बढी देखिएको छ । आँखा पोल्ने, रातो हुने, चिलाउने बिरामी बढेका छन्,’ श्रेष्ठले भनिन्, ‘त्यो धुलो, धुँवाकै कारण हो भएको जस्तो लाग्छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशन डा. भरतबहादुर खत्रीका अनुसार नाक, कान, घाँटी, फोक्सोको समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढिरहेको छ । अहिलेको प्रदूषणमा मानिसले मास्क नलगाउँदा धुलोधुँवा नाक, मुखबाट छिर्दा धेरैमा समस्या बढेको खत्रीको भनाइ देखिन्छ । त्यसैले पनि मास्क अनिवार्य रुपमा लगाउनु पर्ने देखिएको छ ।

उडान पनि ठप्प

प्रदुषणको असर मानिसलाई मात्र नभएर उडानमा पनि देखापरेको छ । एक हप्तादेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रदूषणकै कारण ठप्प बनेको छ । धुलो, धुँवाका कारण भिजिबिलिटी कम हुँदा हप्ता दिनदेखि उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी गराए ।

‘पोखराको आकासमा बिहान भिजिबिलिटी कम हुन्छ,’ भुलले भने, ‘५ किलोमिटर भिजिबिलिटी हुनु उपयुक्त मानिन्छ । उडानको लागि कम्तिमा ३ हजार मिटरभन्दा माथि हुनैपर्छ ।’ भुलका अनुसार अहिले पोखरामा एक हजारदेखि १५ सयमात्र भिजिबिलिटी छ ।

उडान प्रभावित हुँदा हवाई यात्रामार्फत पोखरा–काठमाडौं आउजाउ गर्नेले ठूलो मात्रामा दुःख र सास्ती व्यहोरी रहेका छन् । पोखरा–मुग्लिन सडक पनि निर्माणाधीन भएकाले यात्रामा कठिनाइ छ ।

प्रतिक्रिया दिनुहोस्