अब काम गरेर देखाउछु, ०८४ मा जनताले भोट आफै दिन्छनः सुहाङ नेम्बाङ
काठमाडौंं, १८ बैशाख । इलाम–२ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् ।
निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम–२ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमानदार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् ।
‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाई आफूले राम्रो काम गर्नेछु’ उनले भने, ‘०८४ को चुनावमा भोट माग्नै नपर्ने गरी काम गर्नेछु ।’
नेम्बाङले आफूले पाएको मत र भरोसाको एकएक हिसाब गर्दै अगाडि बढ्ने बताए । उनले भने, ‘तपाईंहरूलाई कहिल्यै पनि पछुतो हुन दिनेछैन । तपाईंहरूको सल्लाह सुझावमै अगाडि बढ्नेछु । काम गरेर देखाउने छु ।’
नेम्बाङले अग्रजले व्यवस्था परिवर्तन गरेर धरातल बनाइदिएको र आफू लगायत युवा नेताले त्यही धरातलमा टेकेर सामाजिक र आर्थिक अवस्था परिवर्तन गर्ने बताए । उनले भने, ‘हाम्रो बुबाहरूको पुस्ता र अग्रज नेताले मुलुकमा व्यवस्था परिवर्तन गरेर हामीलाई सुनौलो व्यवस्था दिनुभएको छ । यसमा टेकेर अब हामी मुलुकलाई समृद्धि बनाउने छौं ।’
नेम्बाङले समाजलाई इन्द्रेणीको उदाहरण दिएर चर्चा गरे । उनले भने, ‘सात रंग मिलेर इन्द्रेणी बनेजस्तै हामी सबै मिलेर यो समाज बनेको छ । सबै समुदाय र जातको पहिचानको हक, अधिकार सुनिश्चित हुने संविधान बनेको छ । त्यसैले कसैलाई भ्रममा नपर्न म आग्रह गर्छु ।’
प्रतिक्रिया दिनुहोस्