निजी क्षेत्रको एउटै आवाज, सरकार लगानीको वातावरण बनाउन प्रतिबद्ध

काठमाडौँ , १६ बैशाख । निजी क्षेत्रका प्रतिनिधिहरूले लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध देखिएको बताएका छन्।

तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा उनीहरूले लगानीको वातावरण बनेको भन्दै नेपालमा लगानी गर्नको लागि आग्रह गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल सरकारले अध्यादेशमार्फत् लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको भन्दै सरकार लगानी मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए।

दुई पक्षीय लगानी सुरक्षासम्बन्धी सम्झौताको ढाँचा समेत मन्त्रिपरिषदबाट पारित भएको कारण लगानीको सुरक्षा र वातावरण निर्माणमा सहयोग पुग्ने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको उनले बताए।

अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै धेरै लगानी गरेर लाभ उठाउन समेत आग्रह गरे।
उनले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्र लगानीको लागि सम्भावना भएको बताएका छन्।

दक्ष जनशक्ति उत्पादनको लागि उच्चस्तरको प्राविधिक स्कुलहरू स्थापना गर्नुका साथै अन्य सीप विकाससँग सम्बन्धित केन्द्रहरू सञ्चालनको लागि लगानी बढाउन सकिने बताए।

उनले देशलाई दक्ष श्रमशक्ति अभावलाई पूर्ति गर्नको साथै विश्व बजारलाई पनि सहयोग पुग्ने बताए।

अध्यक्ष ढकालले सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, ऊर्जाशील जनशक्तिको पनि उचित लाभ उठाउन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्ने सम्भावना रहेको बताए।

लगानीको वातावरण बनाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा महत्त्वपूर्ण काम भएको बताए।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पुर्‍याउने बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रावलले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो लगानीको गर्ने सम्भावना भएको बताए।

उनले यस क्षेत्रमा लगानी गर्नको लागि आह्वान समेत गरेका छन्। त्यस्तै सरकार कानुन सुधारको काममा लागि परेको, नीतिगत सहजीकरणलाई ध्यान दिएको, निजी क्षेत्रसँग सहकार्य बढाएको कारण पनि लगानीमैत्री वातवरण बनेको उनको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि लगानीको वातावरण बनेको भन्दै नेपालमा लगानी गर्नको लागि आग्रह गरे।

उनले पर्यटन, जडीबुटी र ग्रिन हाइड्रोजनमा लगानी गरेर लाभ उठाउनको लागि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्