इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिँदै

काठमाडौँ, १६ बैशाख। उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिँदै छ ।

इलामको मतगणना शनिबार नै सुरु गर्ने भनेता पनि चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि आजदेखि मतगणना सुरु गर्नु परेको हो ।
गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुने छ । आज बिहान ७ः ०० बजे सर्वदलीय बैठकले बसेपछि मतगणना बारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ ।

‘हिजो मौसम खराब भएकाले हेलिकप्टर उड्न नसक्दा सबै मतपेटिका ल्याउन सकिएन,’ प्रमुख जिल्ला अधिकारी कुइँकेलले अनलाइनखबरसँग भने, ‘आज बिहान मौसम सफा भएकाले हेलिकप्टर उड्ने र मतपेटिका ल्याउने तयारी छ ।’

आज बिहान ८ बजेभित्र मतपेटिका संकलन गरिसक्ने र १० बजेभित्र मतगणना सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए ।

बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको थियो ।

प्रदेश सभा सदस्यको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दिलबहादुर सिंह सहित ११ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्