फरवार्ड माइक्रोफाइनान्सको खुद नाफासंगै प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं,१४ बैशाख । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढेको छ ।

चालु आ.व.को तेस्रो त्रयमाससम्ममा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७।१६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ३६ लाख रुपैयाँ थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज र खर्च घटेकाले खुद नाफा बढेको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.३९ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशत र सञ्चालन मुनाफा १८०.०३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ । यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ । यसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरण योग्य मनुाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ४२ रुपैयाँ ७८ पैसा रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ ।

लघुवित्तको १ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्