नेपाली श्रमिकको कतारका राजाद्वारा मुक्त कण्ठले प्रशंसा

काठमाडौं, १२ बैशाख। नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

यस्तै द्विपक्षीय वार्तामा कतारी अमिरले नेपालको ऊर्जा, कृषि, यातायातमा नेपाल र कतारका तर्फबाट छलफल गर्ने र लगानीका क्षेत्रको खोजी गर्ने विषयमा समेत छलफल भएको थियो ।

‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।

विश्वव्यापी द्वन्द्व समाधानमा कतारले खेलेको मध्यस्थताको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि वेपत्ता भएका नेपालका विपिन जोशीको सकुशल रिहाइका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्