स्वाबलम्बन लघुवित्तको अधिकाँश सूचकहरुमा सामान्य गिरावट

काठमाडौं,१२ बैशाख । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ. व. को तेस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा लघुवित्तले ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३५ प्रतिशत कम हो । गत आ.व. सोही अवधिसम्ममा लघुवित्तले १२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी २.२७ प्रतिशत घटेको छ त्यस्तै खुद फि तथा कमिशन आम्दानी ६.३५ प्रतिशत र कुल सञ्चालन आम्दानी ५.२८ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा पनि १.६५ प्रतिशत घटेको छ ।

लघुवित्तको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ५२ पैसा घटेर १० रुपैयाँ ९१ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ रहेको छ ।

लघुवित्तको यस अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा १ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ । तस्रो त्रयमासमा लघुवित्तले १३ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्