मल्लकालीन सम्पदा बालाजु बाइसधारा, ऐतिहासिक महत्व र मेला

काठमाडौं, ११ बैशाख। वैशाख शुक्ल पूर्णिमाका दिन आज काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको बिहानैदेखि नै घुइँचो लाग्ने गरेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला आजबाट पाँच दिनसम्म चल्छ ।

स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्न बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकहरु पनि पुगेका छन् । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको जानकारी दिए ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको हो । मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ ।

बाईसधारा मल्लकालीन सम्पदा

बालाजुको बाइस धारा मल्लकालीन ऐतिहासिक सम्पदा हो । नेपाल संवत् ८७५ तिर कान्तिपुरका अन्तिम मल्ल राजा जयपप्रकाश मल्लले सुरुमा २१ धारा स्थापना गरेका थिए ।

पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा थपे । त्यसपछि धाराहरुको संख्या बाइस पुग्यो । तिनै धाराहरुका कारण बालाजुको सो क्षेत्रको नाम नै बाइस धारा रहन गयो ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी पर्छ । त्यहाँ सुन्दर पार्क छ । काठमाडौं बालाजुबाट बाइपासतर्फ मोडिएपछि बाइस–धारा पार्क भेटिन्छ ।

करिब १६२ रोपनी क्षेत्रफलमा फैलिएको यो मनोहर पार्क शहरवासीको सुस्ताउने गन्तव्य बनेको छ ।

पार्कभित्र विष्णु, शिव लगायत भगवानका मन्दिर गुम्वाहरु छन् । त्यसैले यो हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र पनि मानिन्छ ।

महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको स्मरण गरी यही जामाचो पहाड (हाल नागार्जुन) रहेको गुफामा ध्यान–साधना गरेर सिद्धी प्राप्त गरेको बताइन्छ । त्यही कारण सो क्षेत्रको डाँडोलाई नागार्जुन भनिएको जनश्रुती छ । स्थानीय नेवार समुदायले भने यस स्थानलाई ल्हुति भन्ने गर्दछन् ।

बाइसधारामा स्नान गरी मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा छ । साथै नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतोपाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहिआएको छ ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ । ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा मनोकामना पुरा हुने धार्मिक विश्वास रहिआएको छ ।

आदिकवि भानुभक्तले बालाजुको मनोरम दृष्यलाई स्वर्गजस्तै ठानेर कविता नै कोरेका छन्– ‘यति दिनपछि मैले आज बालाजु देख्या, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्या ।’ त्यसै लेखका होइनन् कवि भानुभक्तले बालाजुको मनोरम दृश्य अति नै सुन्दर भएकोले त्यसलाई कवितामार्फत पृथ्वीको तलभरीमा स्वर्ग भनेर । यसरी बालाजुको बाईसधाराको महत्व ऐतिहासिक र पौराणिक दृष्टिकोणले पनि महत्व बोकेको तथा सुन्दर मनोरम दृश्यले पनि मनै प्रफुलित पार्ने खालको भाव स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्