कतारका राजा अमिर २ दिने भ्रमणका लागि आज नेपाल आउँदै, राष्ट्रपतिले स्वागत गर्ने

काठमाडौं, ११ बैशाख। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।

पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका राजा अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजे नेपाल आइपुग्ने तालिका छ ।

राजा कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ ९नोटाम० जारी गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।

भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुबै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

उनी बुधबार स्वदेश फर्किनेछन् । बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटा जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।
उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्