बाम एकताका लागि प्रयास जारी छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाम एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको तर बचाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘०७४ को चुनावमा जे प्रयोग हामीले गर्यौँ । त्यो एकताको प्रयोग थियो र त्यसलाई जनता र आम नेता, कार्यकर्ताले अनुमोदन गरेको पनि हो । विभिन्न कारणले त्यसलाई बचाउन सकेनौँ । तर एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर बाम एकताको प्रयास गरी नै राख्नुपर्छ ।’

राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे । ‘समाजवाद नै अबको क्रान्तिको बाटो हो । कुनै न कुनै रुपले सहकार्य र कुनै न कुनै रुपले एकतामा जान आवश्यक छ,’ उनले भने ।

त्यसका लागि धेरै जोखिम र चुनौति रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताए । ‘चुनौतिको सामना र जोखिमहरु उठाउँदै अघि बढ्ने कम्युनिष्ट आन्दोलन र वर्ग संघर्षको नियम नै हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘जोखिम छन् तर राष्ट्रिय एकताको निम्ति जोखिम उठाउन, राष्ट्रिय स्वाधिनता, वामपन्थी एकताको निम्ति जोखिम उठाउनु, कम्युनिष्ट आन्दोलनको राम्रो भविष्यको निम्ति जोखिम उठाउनु राम्रो हो । त्यसमा हामी सबैले साथ र सहयोग गर्नुपर्छ ।’ आजको परिवेशमा बाम एकता अपिहार्य भइसकेको उहाँको जिकिर छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पनि अबको प्रयास हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्