एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट १५ बुँदे समसामयिक प्रस्ताव पारित

काठमाडौं,९ वैशाख । प्रमुख सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ।

शनिबारदेखि जारी बैठक समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले १५ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि बैठकहलबाट अनुमोदन भएको हो।

बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। बैठकले फागुन २१ गते बनेको पाँच दलबीच भएको नयाँ सत्ता सहकार्यको स्वागत गर्दै सरकार सफल बनाउने घोषणा गरेको छ।

शनिबार पहिलो दिन बैठकको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगको प्रतिवेदन पनि पेस गरिएको थियो ६ वटा प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो।

बैठकको समापन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दसौँ महाधिवेशन यता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे बस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको बताए । उनले परिषद् बैठकले गरेका निर्णयहरू पार्टीका लागि मार्गदर्शक बन्न सक्ने भन्दै यो बिचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरेपनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताएका छन् ।

एमालेले आफनो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका बीचमा नयाँ सत्तासमिकरण निर्माण गर्ने सम्झदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव मनाउँदै छ। यस अवसरमा गोदावरीमा विशेष समारोह पनि हुँदै छ। यस्तै पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव हलबाट पारित भएकाे छ। नेकपा एमालेले हीरक महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सम्मानित गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्