सरकार स्थिरताको बाटोमा लम्कदैः प्रधानमन्त्री दाहाल

काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनेपछि स्थिरतातिर सरकार अघि बढेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका प्रधानमन्त्रीले आइतबार धनगढी विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन्।

‘समीकरण लामै जान्छ। प्रदेशमा सरकार बनाउन अब कोशीमा बाहेक अरूमा सकिएको छ। विस्तारै स्टे‍बल हुनतिर सरकार अघि बढेको छ। सरकारले गर्ने काम पनि तीव्र पार्ने कोशिस भएको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले तत्काल वामपन्थी एकताको सम्भावना नरहेको समेत बताए। उनले अहिले गैरवामपन्थीहरू सहितको समीकरण बनेको बताए।

गैरवाम पनि संगै भएकाले यसलाई सत्ता समीकरणका रुपमा मात्रै लिएको उनको भनाइ थियो। उनले लगानी सम्मेलनको तयारी करिब पूरा भइसकेको जानकारी दिए।

त्यसका लागि सबैतिरबाट निकै सकारात्मक र उत्साहजनको प्रतिक्रिया आएका उनले बताए। झण्डै ४० भन्दा बढी देश सहभागी हुने आकलन गरिएकोमा त्यो संख्या अझै बढ्ने उनको अनुमान छ।

‘लगानीमैत्री वातावरण तयार पार्न हामीले क्याविनेटबाट केहि ऐनहरु अध्यादेशबाट ल्याउँदैछौं, लगानीकर्तालाई पनि र देशभित्रका निजि क्षेत्रलाई पनि आकर्षित गर्न र प्रोत्साहित गर्न सम्भवतः एक दर्जन ऐन अध्यादेशमार्फत् संशोधन गरेर ल्याउदैछौं, सोमबारको क्याविनेट बैठकबाट यसबारे आवश्यक निर्णय हुन्छ,’ उनले भने।

पहाडी देशहरुको जलवायु परिवर्तन सम्बन्धि एउटा अन्तर्राष्ट्रिय सम्मेलन नेलाले आफै आयोजना गर्न लागेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्