वीरेन्द्र तालमा हिमपहिरो खस्यो, बाढिले पुल पनि बगायो
काठमाडौं, ९ बैशाख। गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी सहित भेल आएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकका अनुसार बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको छ । । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।
सो टोलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको छ । ‘बाढीले एउटा कच्ची पुल बगाएको छ । हाम्रो प्रहरी टोलीका अनुसार बाढीले थप क्षति को वितर(ा नआई सकेको उनले बताए । २०७१ सालमा पनि वीरेन्द्र तालमा हिम पहिरो खसेर बाढी आउँदा पनि सामागाउँ(साम्दो जोड्ने पुल बगेको थियो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए । बाढीले क्षति पुर्याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको उनले जानकारी दिए ।
गृह मन्त्रालयले भने वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा ठूलो बाढी आएको जनाएको छ ।
चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको बताइन् ।
‘ताल नै फुटेको नभई तालमा हिमपहिरो आएकाले पानी बाहिर पोखिएको र बाढी आएको भनेका छन्, बाँकी कुरा बुझ्दैछौं’, उनले भनिन्, ‘अहिले तल बूढीगण्डकीमा धमिलो पानी र बाढी आएको छ । अरु अवस्था के छ, बुझ्न खोजिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्