एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदै

काठमाडौँ, ८ बैशाख। नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने परिषद् बैठकमा देशभरका एमालेका झण्डै २५ सय अगुवा नेता कार्यकर्ता सहभागी हुनेछन् ।

बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक, आयोगहरू तथा सल्लाहकार परिषद्ले दशौं महाधिवेशन यताका गतिविधि समेटेर प्रतिवेदन पेश गर्ने तयारी छ । ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् ।

परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहभागीहरुको सुझाव समेत एपबाटै लिने व्यवस्था गरिएको बताए । उनका अनुसार, पार्टीले लिनुपर्ने कार्यक्रमबारे सहभागीहरुबीच पोल (मत सर्वेक्षण) समेत गरिनेछ ।

२०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनका प्रतिनिधि स्वतः सदस्य हुने यो बैठकमा दुई हजार ४५४ जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, दशौं महाधिवेशनका दुई हजार ७३ जना प्रतिनिधि बाहेक केन्द्रीय कमिटीका सदस्य, विभिन्न निकायमा मनोनीत सदस्य समेत यो बैठकमा सहभागी हुन लागेका हुन् ।

दुई दिन चल्ने यो बैठकले दशौं महाधिवेशन यता पार्टीले गरेको निर्णयहरुको समीक्षा गरी आगामी कार्यक्रम तय गरिने महासचिव पोखरेलले बताए ।पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले परिषद् बैठकको औचित्यबारे जानकारी गराउँदै समग्र कामको समीक्षा र आगामी कामको दिशानिर्देश गर्ने बताए । आगामी दिनमा पार्टीलाई विकसित एमालेका रूपमा अघि बढाउन स्पष्ट मार्गनिर्देश गर्नका साथै राष्ट्रिय राजनीतिलाई पनि सही दिशामा अघि बढाउन परिषद् बैठक महत्त्वपूर्ण हुने एमालेको विश्वास छ ।

‘मुलुकको आवश्यकता र राजनीतिक स्थायित्वका साथै जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने हाम्रो विश्वास छ’, महासचिव पोखरेलको भनाइ छ ।

एमालेका अनुसार परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यो बाहेक केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । ती सबै दस्ताबेज मोबाइल एपबाट सहभागीहरूले अध्ययन गर्न सक्नेछन् ।

बैठकमा एमालेले २०८० मा चलाएको मिसन ग्रासरुट र झुलाघाट चिवाभन्ज्याङ संकल्पयात्राको समीक्षा समेत गर्नेछ । सोही समीक्षाका आधारमा पार्टीको आगामी कार्यदिशा तय गर्ने सो पार्टीले जनाएको छ । यो बाहेक यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको समेत हिसाबकिताब बैठकमा हुनेछ । दुई राष्ट्रिय महाधिवेशनको बिचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने एमालेको वैधानिक व्यवस्था छ । एमालेको महाधिवेशन २०७८ साल मङ्सिरमा सम्पन्न भएको थियो । पाँच पाँच वर्षमा हुने एमाले महाधिवेशन आउन अव २ वर्षमात्र बाँकी छ ।

‘कार्यकर्तालाई आफ्नै मोबाइल एप्सबाट परिषद्का सबै (६ वटा) दस्ताबेज जानकारी गराउँछौँ र पढाउँछौँ । परिषद् बैठकका सम्पूर्ण सूचना पनि त्यहीँबाट प्राप्त गर्न सकिनेछ’, महासचिव पोखरेलले भने, ‘व्यक्तिहरूको अभिलेखीकरण र परिचयपत्र एप्सबाटै दिइनेछ । एप्सबाटै ओपिनियन पोल गरेर कार्यकर्ताको भावना समेट्दै सम्बोधनका लागि निष्कर्षमा पुग्छौँ ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिषद् बैठकले मुख्यगरी दुईवटा काम गर्ने बताए । गौतमका अनुसार पार्टी महाधिवेशन र विधान महाधिवेशनयताका समग्र कामको समीक्षा गर्ने छ ।त्यस्तै कुनै कमीकमजोरी भएको भए त्यसलाई सुधारको बाटोमा लैजाने दोस्रो महत्त्वपूर्ण काम परिषद् बैठकले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्