वाणिज्य बैंकहरुमध्ये नाफामा नबिल बैंकको नम्बर वान

काठमाडौं,७ बैशाख । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउने नम्बर वान बन्न सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.३५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.७२ प्रतिशत घटेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ६२ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर २३ रुपैयाँमा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८।८५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ ।

चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ  रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्