आयोगले प्रत्यक्षतर्फका मतपत्र आजदेखि छाप्ने

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका मतपत्र आजबाट छाप्न सुरु गर्ने भएको छ।

सर्वोच्च अदालतले बुधबार फरक–फरक मतपत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पठाउने आदेश दिए पनि सो आदेशको औपचारिक पत्र आइनसकेकाले आयोगले पूर्वनिर्धारित कार्यक्रम अनुसार नै मतपत्र छाप्न लागेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जाकारी गराए ।

आयोगले समानुपातिकतर्फको मतपत्र छापिसकेको छ। उसले यसअघि नै कात्तिक १० गतेदेखि नै प्रत्यक्षतर्फको मतपत्र छाप्ने योजना बनाएको थियो।

यसअघि बुधबार राजपा नेता सर्वेन्द्रनाथ शुक्लले प्रत्यक्षतर्फको मतपत्र दुई अलग पानामा छाप्नुपर्ने विषयमा अदालतको कात्तिक १ गतेको आदेशको मर्मअनुसार काम नभएको भन्दै हालेको मानहानी मुद्दामा सर्वोच्चले दुई मतपत्र छाप्नु वाध्यकारी भएकाले त्यस विषयमा भएको प्रगति विवरण तीन दिनभित्र अदालतलाई पठाउन आयोगलाई आदेश दिएको थियो।

बिहीबार र शुक्रबार सार्वजनिक विदा परेकाले आयोगले सर्वोच्चको औपचारिक पत्र पाइनसकेकाले पूर्वनिर्धारित कार्यक्रमअनुसार नै मतपत्र छाप्न लागिएको हो।

सर्वोच्चको आदेशपछि वामगठबन्धनका नेताहरुले मतपत्रको प्राविधिक विषयलाई लिएर मंसिर १० र २१ गते तोकिएको निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्