मधेस प्रदेशका मन्त्री रमेशप्रसादद्वारा राजीनामा

काठमाडौं, ४ बैशाख । मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले पदबाट राजीनामा दिएका छन्।

लोसपाबाट उनी प्रदेश सरकारमा एक्ला मन्त्री थिए।

मंगलबार दिउँसो उनले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन लोसपाको केन्द्रीय नेतृत्वबाट निर्देशन आएपछि उनले पदबाट राजीनामा दिएका हुन्। प्रदेश सभामा मंगलबार मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्रीको सचिवालयले भने पदमुक्त गरिएपछि उनी स्टन्ट गरेर राजीनामा बुझाएको दावी गरेका छन्।

लोसपाले विश्वासको मत नदिने निश्चित भए लगत्तै मुख्यमन्त्री यादवले साढे १२ बजेतिर उनलाई पदमुक्त गरेको र सो पत्र प्रदेश प्रमुख कार्यालयले दर्ता समेत गरेको मुख्यमन्त्रीका एक स्वकीय सचिवले बताए।

राजीनामासँगै उक्त मन्त्रालय मुख्यमन्त्री यादवले नै सम्‍हालेका छन्।

प्रतिक्रिया दिनुहोस्