प्रहरीका उच्च अधिकृतहरु सेवा अवधि नसकिदै अवकाशमा

काठमाडौं, ४ बैशाख । सेवा अवधि बाँकी छँदै प्रहरीका उच्च अधिकारीहरु उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी कर्मचारीको सेवा अवधि ३० वर्ष रहे पनि त्यसअगावै उमेर हदका कारण केही उच्च प्रहरी अधिकारीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारी भोलि ५ वैशाख अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष रहेका कारण उनी ५ वैशाखबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् ।

त्यसैगरी अर्का एआईजी मिरा चौधरी थारु पनि ७ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछिन् । उनी पनि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी हुन् । ७ वैशाखमै उमेर हदका कारण गण्डकी प्रदेशका डीआईजी विकासराज खनाल पनि अनिवार्य अवकाशमा जाँदैछन् ।

हिजो सोमबार मात्रै डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका उमेशराज जोशी पनि उमेर हदकै कारण आगामी १९ असारमा अनिवार्य अवकाशमा जाँदैछन् ।

आउँदो १० जेठमा डीआईजी सुरेन्द्र मैनाली पनि अनिवार्य अवकाशमा जाँदैछन् । २१ असारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेल ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

उमेर हदकै कारण ११ असारमा एसएसपी मनोज यादव पनि अनिवार्य अवकाशमा जाँदैछन् । एसएसपीको उमेर हद ५५ वर्ष छ ।

उमेर हदका कारण अवकाशमा नगएको भए उनीहरु सबै चैत २०८१ सम्म प्रहरी सेवामा रहेन थिए । सेवा अवधि बाँकी छँदै उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका उनीहरुको आगामी चैतमा प्रहरी सेवामा प्रवेश गरेको ३० वर्ष पूरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्