परराष्ट्रमन्त्री नारायणकाजी अन्तर्राष्ट्रिय समितिको बैठक छोडेर किन हिँडे ?

काठमाडौं, ४ बैशाख । तोकिएको समयमा बैठक सुरु नगरेपछि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक छाडेर हिँडेका छन् ।

मंगलबार सिंहदरबार स्थित समितिको हलमा साढे १० बजे समितिको बैठक बोलाइएको तियो । मन्त्री श्रेष्ठ १० बजेर २८ मिनेटमा अर्थात् २ मिनेट अगाडि नै बैठक हलमा आइपुग्दा एक जना मात्र सांसद सुनिता बराल रहेकी थिइन् ।

समिति सभापति राजकिशोर यादव मन्त्री बैठक कक्षमा आएको ८ मिनेटपछि हलमा प्रवेश गरेका थिए ।

मन्त्री श्रेष्ठले १०ः४५ बजेसम्म सांसदहरूको प्रतीक्षा गरे तर बैठक सञ्चालनका लागि १४ जना सांसद नपुगेपछि उनले आफ्नो अरू पनि काम भएकाले सांसदहरूलाई कुरेर बस्न नसक्ने भन्दै बैठक छाडेर मन्त्रालयतिर लागे ।

मन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव तथा कर्मचारीहरू पनि समितिबाट बाहिरिए ।

मन्त्री श्रेष्ठ निस्किएपछि नेमकिपा सांसद प्रेम सुवाल लगायतका केही सांसद आएपनि बैठक स्थगित भयो । समितिका सभापति र सांसदहरू समय पालनामा अनुशासित नहुँदा तयारीका साथ संसदीय समितिमा आएका मन्त्री फिर्ता हुनुपरेको छ ।

आजको बैठकमा मन्त्रीस्तरबाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण माग्ने, इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेश स्थित नेपाली नियोगहरूको विवरण, तिनको वर्तमान अवस्था, भोग्नुपरेको समस्या र सुधारका पक्षहरू बारे छलफल गर्ने कार्यसूची राखिएको थियो ।

बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्