सरकार पनि नबन्ने र देश पनि नचल्ने वामपन्थी एकता आवश्यक छैनः ओली

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आजको आवश्यकता नभएको बताएका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अहिले सुशासन, राष्ट्रिय एकताको पक्षमा काम गर्ने शक्तिहरूबीचको सहकार्य आवश्यक रहेको बताए।

‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ। सरकार बन्दैन,’ उनले भने।

अध्यक्ष ओलीले वामपन्थी एकता नामको नक्कली कुरा भइरहेको पनि बताए।

‘कतिपय नक्कली कुरा गर्नेहरू छौं। कम्युनिस्ट, वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु, देशभक्ति, प्रगतिशील आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम–कर्तव्य हो, हामीले बुझेका छौं। त्यो बुझेर नै हामीले दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौं। विस्तारबाट, एकता, एकीकरणबाट। त्यसलाई तोडेर आन्दोलन कमजोर भयो, हामीले तोडेको होइन। हामीले जोड्ने र जोगाउने मात्र काम गर्‍यौं। यतिबेला राष्ट्रिय शक्तिहरूले मिलेर एकता सम्बर्द्धन गर्ने, सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्ने, नराम्रो काम गर्दिनँ भन्ने प्रतिबद्धता जनाउने, त्यस्ता राष्ट्रिय शक्तिहरूको एकता आजको आवश्यकता हो। वामपन्थीका नामको एकता भन्ने कुरा होइन।

अध्यक्ष ओलीले कतिपयले एमालेले गृहमन्त्रालय जस्तो महत्त्वपूर्ण मन्त्रालय लिएन भनेर टिप्पणी गरिरहेको बताए।

अहिलेको समीकरणको उद्देश्य सरकार परिवर्तन गर्नु भएको बताए।

‘अर्थ मन्त्रालय लिएन भन्ने कुरा छ। हामीलाई कमाउनु छैन। हामीलाई त देश बनाउनु छ। यो मन्त्रालय, त्यो मन्त्रालयमा अडिनु, झन्झटमा फस्नु, त्यसले तनाबले तिक्तता बढाउनु अहिलेका हाम्रा अभिभारा होइनन्। हाम्रा काम होइनन्,’ उनले भने, ‘अहिले अनुचित, अनुपयुक्त, देशका लागि हानिकारक, राष्ट्रिय हितलाई गम्भीर नोक्सानी पुर्‍याउने, गठबन्धनलाई तोड्नु भत्काउनु र त्यस्ता काम रोक्ने र सही बाटोतर्फ फर्काउने नयाँ समीकरण निर्माण गर्नु मुख्य जिम्मेवारी हो, त्यही काम पार्टीले गरेको छ।

अध्यक्ष ओलीले प्रधानमन्त्री बन्नेप्रति रुचि नरहेको बताए।

‘एउटा चलेको छ। प्रधानमन्त्रीको कुरा। त्यतिबेला नै मैले प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको बताएका थिएँ। अहिले समीकरण बदल्न चाहेको हो। प्रधानमन्त्रीको पद धेरै ठूलो कुरा होइन। प्रधानमन्त्री पद धेरै महत्त्वपूर्ण कुरा पनि हो। त्यसैबाट नेतृत्व गरिन्छ। त्यहीँबाट नेतृत्व हुन्छ। तर, यतिबेला के गर्दा महत्त्वपूर्ण हुन्छ ? देश ओरालो लागिरहेको छ। हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहन्छौं भने प्रधानमन्त्री नभएर पनि देशलाई ओरालो लाग्ने बाटोबाट छेक्दैनौं भने राम्रो हुँदैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्