लुम्बिनी, मधेस र बागमतीमा पनि खतराको घन्टी बज्दैः माधव नेपाल

काठमाडौं, ३ बैशाख । नेकपा (एकीकृत समाजवादी) ले अब राजनीतिक कोर्ष कसरी अघि बढ्छ भन्ने कुरा सत्ता गठबन्धनका अरू दलहरूले गर्ने व्यवहारमा भर पर्ने बताएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेको बताए।

‘उहाँहरूले सुदूरपश्चिममा आलोपालो मुख्यमन्त्री अन्तर्गत् सुरूमा समाजवादीलाई दिने सहमति गर्नुभएको थियो,’ नेपालले भने,‘रञ्जिताजीलाई पनि त्यही भन्नुभएको रहेछ। रञ्जितालाई मनाउन सक्नुभएन। हाम्रा साथीहरूले सकेको गरे।’

उनले सुदूरपश्चिममा भएको राजनीतिक घटनाक्रममले आफूलाई खुसी लागेको बताए। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेससहितको गठबन्धनलाई समर्थन गरेको छ।

कांग्रेस र समाजवादीको समर्थनमा सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनी नागरिक उन्मुक्ति पार्टीमा संरक्षक रेशम चौधरी पक्षका हुन्।

अध्यक्ष नेपालले सुदूरपश्चिमको जस्तै घटना बागमती, मधेस र लुम्बिनी प्रदेशमा पनि हुन सक्ने बताए।

‘मधेस, बागमती र लुम्बिनी प्रदेशमा पनि अब खतराको घन्टी बज्यो,’ अध्यक्ष नेपालले भने।

उनले संघीय सरकारमा के गर्ने विषयमा अहिल्यै सोचिनसकेको बताए।

‘संघीय सरकारबारे हामीले सोचिसकेका छैनौं,’ अध्यक्ष नेपालले भने, प्रचण्डजी र ओलीजीले कस्तो व्यवहार गर्नुहुन्छ त्यसमा भर पर्छ। हामी पर्ख र हेरको अवस्थामा छौं।

प्रतिक्रिया दिनुहोस्