नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठद्वारा सुदूरपश्चिम सांसद चौधरी निलम्बन

काठमाडौं, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिना निलम्बन गरेकी छिन्।

पार्टीको चैत १४, १५ र २५ गतेको बैठकमा उपस्थित नभएको भन्दै संस्थापक अध्यक्ष श्रेष्ठले चौधरीलाई शुक्रबार निलम्बन गरेकी हुन्।

चौधरीलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरिएको हो।

‘घनश्याम चौधरीलाई पार्टीले अति महत्वपूर्ण र गम्भीर विषयमा छलफल गरी निर्णय गर्नुपर्ने भनी पटक(पटक बोलाइएकोमा पार्टीलाई नै निराश गर्ने गरी बैठकमा उपस्थित नभएको र निजले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सम्बोधन गरी पठाइएको स्पष्टीकरण पत्र चितबुझ्दो नभएकाले, नागरिक उन्मुक्ति पार्टीको अन्तरिम विधान २०७८ धारा १७ (क) को २, ४ र ५ बमोजिम कार्यगरेकोले पार्टीको केन्द्रीय कमिटिको मिति चैत ३० गतेको निर्णय बमोजिम निजलाई तीन महिनाको लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराउँदछु,’ सूचनामा भनिएको छ।

यसअघि संस्थापक अध्यक्ष श्रेष्ठले सांसद चौधरीलाई संसदीय दलको नेताबाट पनि हटाइएकी थिइन्। नाउपाको सुदूरपश्चिम संसदीय दलमा श्रेष्ठ निकट कैलाश चौधरी नेता चयन भइसकेका छन्।

यसैबीच सत्ता गठबन्धनले नाउपालाई सुदूरपश्चिमको मुख्यमन्त्री दिने समझदारी गरेको छ। तर अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीमा बाँडिएको नाउपाभित्र रडाको मच्चिएको छ।

यसअघि अध्यक्ष चौधरीले सांसद इन्दिरा गिरीलाई कारबाही गरेकी थिइन्। सुदूरपश्चिमा नाउपाका अब ६ जना सांसद छन्। यद्यपि बहुमत सांसद भने संरक्षक चौधरीतिर छन्। चौधरीको पक्षमा चार जना सांसद खुलेका छन्।

प्रतिक्रिया दिनुहोस्