प्रकाशकुमार सुवेदी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

काठमाडौं, २९ चैत । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदी सिफारिस भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रतिष्ठानको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले पदपूर्तिका लागि पहिलो पटक १७ पुस र दोस्रो पटक २१ माघमा गरी दुई पटक आवेदन खुला गरेको थियो । छनोट तथा सिफारिस समितिमा परेका आवेदनहरूमध्ये ‘समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०७५’ मा तोकिएको छनोट प्रक्रियाका सम्पूर्ण चरणबाट सफल भएका सुवेदीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले निर्देशकका लागि ६५ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संंस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड तोकेको थियो ।

निर्देशकको नियुक्तिका लागि सिफारिस भएका सुवेदी यसअघि अष्ट्रियाको आवासीय राजदूत, संयुक्त राष्ट्रसंघीय कार्यालय, भियनाका स्थायी प्रतिनिधि र क्रोएसियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा रहेर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्