कांग्रेसद्वारा संसदीय छानबिन समितिको माग गरी समीकरण भत्काउने प्रयास : प्रधानमन्त्री दाहाल

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिर हुँदाको पूर्वाग्रह साँधेर नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको आरोप लगाएका छन्।

विराटनगरमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ।’

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै सदन अवरोध गर्दै आएको घटनालाई उनले ‘पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास’ पनि भनेका छन्।

विराटनगरमा पत्रकारहरुसँग छोटो कुराकानीको क्रममा प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेको बचाउ गरेका छन्।

लामिछानेमाथि छानबिन जरुरी नै नभएको आसय प्रकट गर्दै उनले थपे, ‘अहिले रवि लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन। मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो केस भनेर सोधेको थिएँ। उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र छिट्टै समाधान हुने बताए।

‘गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुन्छ र त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको छ,’ उनले भने, ‘सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र गृहमन्त्री लामिछानेको विषय अलग्गै अध्ययन गरेर समाधान गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्