ईद उल फित्रमा सरकारले भोलि सार्वजनिक बिदा दियो
काठमाडौ,२८ चैत । सरकारले भोलि बिहिबार सार्वजनिकबिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
इस्लामिक पात्रोअनुसार मनाइने ईद ठूलो पर्वमध्ये एक हो ।
ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसंगै मनाइन्छ । ईद उल फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व हो ।
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वीले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिठा परिकार आफन्तजन लाई खाने–खुवाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्