मानव अधिकार आयोगद्वारा सहसचिव खरेलको बढुवा सिफारिस

काठमाडौं, २६ चैत। राष्ट्रिय मानव अधिकार आयोगले सहसचिव मुरारीप्रसाद खरेललाई सचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

आयोगको आइतबार बसेको बैठकले कायममुकायम सचिवसमेत रहेका खरेललाई बढुवाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

आयोगका सदस्य मिहिर ठाकुरले सहसचिव खरेललाई सचिवमा बढुवा गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए।

आयोगमा विगत ३४ महिनादेखि सचिव रिक्त छ। कामुको भरमा आयोग चल्दै आएको छ। आयोगले गत कात्तिकमा पनि खरेललाई नै सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो।

तर त्यसबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस प्रक्रिया नपुगेको भन्दै पुनस् सिफारिस पठाउन भनेको थियो। प्रधानमन्त्री कार्यालयले बढुवा गर्न अस्वीकार गरेका खरेललाई नै पुनस् आयोगले सिफारिस गरी पठाएको छ।

आयोगलाई प्रधानमन्त्री कार्यालयले सचिव सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानुन बमोजिम गर्न भनेको थियो।

आयोगले पटक–पटक छलफल गरी पुनः खरेललाई नै सचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको सदस्य ठाकुरको भनाइ छ।

आयोग केही सदस्यहरूले बैठकमा सहसचिव टीकाराम पोखरेल र यज्ञ अधिकारीलाई पनि बढुवा गर्न सकिनेबारे सोच्न आग्रह गरेका थिए। तर अध्यक्ष तपबहादुर मगरले सचिवमा पुनः सहसचिव खरेललाई नै सिफारिस गरिनुपर्ने अडान राखेका थिए।

आइतबारको बैठकमा अध्यक्षको प्रस्तावलाई सदस्यहरू मनोज दुवाडी, लिली थापा, सूर्यप्रसाद शर्मा ढुंगेलले सहमति जनाएका थिए। बहुमतका आधारमा दोस्रो पटक पनि खरेललाई नै सचिवमा सिफारिस गरिएको हो।

आयोगको सिफारिस मंगलबार प्रधानमन्त्री कार्यालय पठाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्