सभामुख र शीर्ष नेताहरूबीचको छलफल समय २ बजेका लागि सर्यो
काठमाडौं,२६ चैत । सभामुख देवराज घिमिरे र शीर्ष नेताहरूबीचको छलफलको समय सरेको छ ।
आज बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।
सो छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ ।
गत फागुन २४ गतेदेखि कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसद्मा प्रश्न उठाउँदै आएको छ । लामिछाने सहकारीको रकम हिनामिनाको आरोपी रहेकाले संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ ।
सोमबार बिहान बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले पनि छानबिन समितिको मागमा अडिग रहने निर्णय लिएको छ । यसमा सत्तारुढ दलहरू तयार भएका छैनन् ।
प्रतिनिधि सभाको चैत २१ गते बसेको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले अर्को बैठकमा संसदीय छानबिन समिति लिएर आउन सरकारलाई आग्रह गरेका थिए ।
प्रतिनिधि सभाको बैठक चैत २७ गते बस्दैछ । त्यसअगाडि संसद चलि रहेको गतिरोधलाई साम्य पार्न सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्