कालीबहादुर खामलाई थुनामा पठाउन आदेश जारी
काठमाडौ, २३ चैत । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो ।
१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।उनलाई बुधबार विहान चितवन ल्याइएको थियो ।
जिल्ला अदालत चितवनका श्रेस्तेदार विष्णुप्रसाद आचार्यका अनुसार खामको अभियोगका विषयमा बुधबार थुनछेक बहस भएको थियो ।
सर्वोच्च अदालतबाट बुधबार साँझ मिसल झिकाएपछि खामको बयान लिइएको थियो । सरकारी तथा वादीका तर्फबाट ३ जना र प्रतिवादीका तर्फबाट ९ जना कानुन व्यवासायीले बहस गरेका थिए ।
शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले काटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए । डिभिजनमा नै कुटेर खामसहित लडाकुहरुले श्रेष्ठको हत्या गरेको अभियोग लागेको छ ।
प्रतिक्रिया दिनुहोस्