लुम्बिनीमा आजै जोखबहादुर महरा मुख्यमन्त्री बन्ने

काठमाडौं, २३ चैत । लुम्बिनी प्रदेशमा आजै माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने भएका छन् ।

बिहीबार प्रदेशसभामा राजीनामा घोषणा गरेका मुख्यमन्त्री चौधरीले इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

सत्तारुढ दलहरुले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गर्ने तयारी गरेका छन् । शुक्रबार सुरुमै दावी पेश गर्ने र प्रदेश प्रमुखले महरालाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर संकलन गरेर दावी पेशका लागि तयारी अवस्थामा राखिएको छ । नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर नभएको जनाइएको छ ।

प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले शुक्रबार मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया अघि बढेको बताए । मुख्यमन्त्रीको राजीनामा र नयाँ मुख्यमन्त्रीका लागि दाबी आइसकेको उनले बताए ।

महरालाई समर्थन गर्ने विषयमा माओवादीका स्वयं महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २९१० बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति पनि गरेका छन् ।

सहमतिपत्रमा प्रदेश सरकारबाट गरिने राजनीतिक नियुक्ति सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गर्ने, प्रदेशको पहिचान कायम गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरूको नेतृत्व पंक्तिमध्येबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ ।

माओवादीका स्थायी समिति सदस्यसमेत रहेका महरा रोल्पा निर्वाचन क्षेत्र नं। १ ९१० बाट निर्वाचित भएका थिए । उनले एमालेका कमल बुढाथोकीलाई १४ हजार २० मतान्तरले पराजित गरेका थिए । महराले १९ हजार ४ सय २५ मत ल्याएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने महरा रोल्पाको सुनीलस्मृति गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी २०७९ माघमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा झन्डै ३ महिना अर्थमन्त्री बनेका थिए ।

लुम्बिनी प्रदेशमा बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाईसमेत सरकारमा सहभागी गराउने सहमति छ ।
नयाँ राजनीतिक समीकरणको आधारमा सरकार बनाउन समर्थन गर्ने जनता समाजवादी पार्टी ९जसपा०नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी९नेकपा एस०सहित स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूको बिचमा लिखित सहमति गरेका छन् ।

जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको बैठकमा सहभागी एक नेताले दावी गरे ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्याउने र बाँकी रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराउने योजना बनाइएको छ ।

जस अनुसार नेकपा एमालेलाई ५ , माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दलहरूलाई दिनेगरी तयारी गरिएको छ । पहिलो चरणमा सबै दलबाट एकएक जना मन्त्री बनाइने सहमति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्