१० महिनादेखि रोकिएको लाइसेन्स छपाइ आजदेखि सुरु

काठमाडौं, २२ चैत। लाइसेन्स छपाई रोकिएको १० महिनापछि स्मार्ट लाइसेन्स छपाई सुरु हुने भएको छ । विभागले जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड आजदेखि छाप्न थालेको महानिर्देशक उद्धव रिजालले बताए ।

उनका अनुसार केहि दिन अघिदेखि ती ल्याइएका स्मार्ट कार्ड परिक्षण भइरहेको थियो । सो परीक्षण सफल भएपछि आजदेखि पुनः लाइसेन्स छपाइ सुरु भएको जनाएको छ ।

यस अघि विभागले ल्याएको कार्डलाई छपाई मेसिनले सपोर्ट नगर्ने तथा प्रिन्ट नहुने समस्या थियो । कार्डको ‘स्पिसिफिकेसन’ नमिल्दा यसअघि उक्त मेसिनमा प्रिन्ट सम्भव भएको थिएन । विभागले आज साझदेखि छपाई थाल्ने तयारी गरेको छ ।

मौजाद कार्ड नहुँदा झन्डै १० महिनादेखि लाइसेन्स छपाई ठप्प छ । विभागसँग कार्ड नहुँदा अत्यावश्यक लाइसेन्स चाहिने व्यक्तिलाई मात्रै लाइसेन्स दिदै आएको थियो । हाल विभागसँग भएको छपाई मेसिनले दैनिक तीनदेखि चार हजार ओटा लाइसेन्स छाप्छ ।

विभागले लाइसेन्स छपाई गर्न नसक्दा १३ लाख बढी सेवाग्राही लाइसेन्स कुरेर बसिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्