निलम्बित न्यायाधीशकी श्रीमतीद्वारा सर्वोच्च अदालतको इजलासमै विष सेवन
काठमाडौं २१ चैत । न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला आरतीले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् । त्यसपछि उनलाई वीर अस्पताल पठाइएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे बताए ।
‘इजलासमै शंकास्पद वस्तु पिएको पाइएपछि उनलाई अहिले वीर अस्पताल पठाएका छौं । के पिएको हो भन्न अहिले खुलिसकेको छैन’ घिमिरेले भने ।
आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । गत वर्षको २८ चैतमा न्यायाधीश गिरीलाई काठमाडौंबाट पक्राउ गरेर कपिलवस्तु लगिएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।
काठमाडौंको सामाखुसीमा पनि आफूमाथि बलात्कार भएको दाबी गर्दै उनले श्रीमानविरुद्ध जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले पनि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध आरती उच्च हुँदै सर्वोच्च पुगेकी थिइन् । सोही मुद्दाको सुनुवाइ हुने क्रममा इजलासमै उनले शंकास्पद वस्तु सेवन गरेको पाइएको हो ।
प्रतिक्रिया दिनुहोस्