संसदीय छानबिन समितिको कार्यालयमा बहस गर्न रविलाई विश्वप्रकाशको खुल्ला चुनौती

काठमाडौं २१ चैत । नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिमा उपस्थित भएर जवाफ दिनुपर्ने बताएको छ ।

गृहमन्त्री लामिछाने सहकारीको ८० करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएको भन्दै कांग्रेसले यो विषयमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि त्यही माग दोहोर्‍याए । आफूहरूले संसदीय छानबिन समितिमा लामिछानेको जवाफ सुन्न चाहेको बताउँदै उनले भने, ‘माननीय गृहमन्त्रीजीले भन्नुभयो ‘म सार्वजनिक रूपमा बहस गर्न तयार छु । कहाँ आउनुपर्ने हो भन्नुस् म त्यहाँ आउन तयार छु भन्नुभयो ।’ ‘आउनुस् बहस गर्नका लागि म ठाउँ निर्धारित गर्न चाहन्छु । त्यो हो– नेपाल देशको काठमाडौं जिल्लाको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा म उहाँलाई निमन्त्रण गर्न चाहन्छु ।’

५ वटा शहरका ‘स’बाट नाम सुरू हुने ५ वटा सहकारीको ५० हजार बचतकर्ताको ८० करोड रुपैयाँ हिनामिनामा लामिछानेको नाम मुछिएको भन्दै शर्माले उनीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।

काठमाडौंको सुवर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको सहारा, नेपालगञ्जको समानता र वीरगञ्जको सानोपाइला सहकारी संस्थाबाट ५० हजारभन्दा बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम हिनामिना भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्