उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं, २० चैत। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । संसदीय बोर्डको बैठक दिउँसो २ बजे र कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

संसदीय बोर्डको बैठकले गरेको निर्णय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएकाले र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाएर प्रचार प्रसार सुरु गरिसके पनि नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाइसकेको छैन ।

इलाम क्षेत्र नम्बर २ का लागि कांग्रेस कोशी प्रदेशले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमार, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम केन्द्रमा सिफारिस गरेको छ ।

यसैगरी बझाङका लागि कांग्रेसले अभिषेक सिंह, सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ, धु्रवराज उपाध्याय र नारायण हमाललाई सिफारिस गरेको छ । अभिषेक गाडी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । इलामा २ मा र बझाङ १ (१)मा उपनिर्वाचनको सरगर्भी बढेको ।

प्रतिक्रिया दिनुहोस्