रेशम चौधरीद्वारा नाउपा बैठकमा नेताहरुलाई ज्यान मार्ने धम्की

काठमाडौं, १९ चैत । नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्‍यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम चौधरीले ज्यान मार्ने धम्की दिएका नाउपाका नेता रमेश बिकले बताए ।

सोमबारको बैठकमा सुदूरपश्चिम सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राखिरहेका थिए । त्यतिबेलै रेशम चौधरीले सदूरपश्चिममा अहिलेको सरकार ढलेमा ज्यान मार्ने धम्की दिएका हुन् ।

‘हामीले धारणा राख्‍ने क्रममा विवाद भयो । रेशम चौधरीज्‍यूले धम्कीपूर्ण भाषामा सुदूरपश्चिममा कमल शाहको सरकार टिकेन भने तिमीहरूको हत्या हुन सक्छ भनेर तर्साउनुभयो’, उनले भने ।

सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।

गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।

त्यही विषयमा छलफलका क्रममा विवाद हुँदा रेशमले ज्यान मार्ने धम्की दिएका हुन् । रेशम र रञ्जिता पक्षबीच विवाद हुँदा बैठकमै हात हालाहालको अवस्था बनेको थियो ।

यसअघि आइतबार पनि रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्रीलाई भेट्न वालुवाटार नजान र गए ज्यान मार्ने धम्की दिएको बिकले बताए ।

‘उहाँ (रेशम) ले हिजो पनि हामीलाई फोन गरेर प्रधानमन्त्रीलाई वालुवाटार भेट्‍नु नजानू, यदि गयौ र कमल शाहको सरकार तलमाथि भयो भने तिमीहरूको हत्या हुन सक्छ भनेर धम्क्याउनुभयो’, उनले भने, ‘तर हामीले त्यसलाई गम्भीर रुपमा लिएनौं । तर आज केन्द्रीय कार्यालयमा मिटिङ चल्दै गर्दा बाहिरबाट चुकुल लगाएर हामीमाथि आक्रमण भयो । त्यसपछि उहाँ (रेशम) ले बैठकमै फेरि त्यही हत्या गर्ने धम्की दिनुभयो ।’

गत पुसमा कैलालीमा भएको महाधिवेशनबाट रेशमलाल चौधरी अध्यक्षमा निर्वाचित भएका थिए । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसैले हाल नाउपामा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी आधिकारिक अध्यक्ष छिन् ।

पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले भने केन्द्रीय समितिको बैठकमा बाहिरको मान्छे प्रवेश नपाउनुपर्ने तर बैठकमा आएर कुटपिट गर्नु गम्भीर भएको बताइन् ।

उनले भनिन्, ‘ नाउपाको बैठक मैले बोलाएकी हुँ। त्यहाँ त केन्द्रीय पदाधिकारी मात्रै आउनुपर्ने हो। तर बाहिरको मान्छे आएर कुटपिट गर्‍यो भन्‍ने सुनेँ । किनकी म यो कुरा थाहा पाएपछि आइपुगेकी थिएँ ।’

रेशम चौधरीले पार्टीका नेताहरूलाई ज्यान मार्ने धम्की दिएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘यस विषयमा मैले के भन्नू, केही भन्नै मिल्दैन ।’

यता, पार्टीका संस्थापक नेता रेशमलाला चौधरीले भने आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको बरू पार्टीको विवाद पार्टी कार्यालयमै मिलाउन आग्रह गरेको बताए ।

‘बैठकमा संस्थापक सबैलाई समेटेर लैजाने कुरामा बहस भइरहेको थियो । त्यहीबीचमा साथीहरूले वालुवाटार जान्छौं प्रधानमन्त्रीलाई भेट्न भन्नुभयो’, उनले भने, ‘मैले वालुवाटार नजान आग्रह गरेँ । तर उहाँहरूले जिद्दी नै गर्नुभयो । त्यसपछि मैले त्यता गए बरू माओवादी पार्टीमै प्रवेश गरे भैगयो नि त भनेँ ।’

उनले आफूले बैठकमा केही गलत शब्द बोलेको भने स्वीकार थरे । ‘मैले आग्रह गर्दा साथीहरू उग्र भएर आउनुभयो । त्यसपछि मैले पनि केही कडा भएर बोलेँ, तर गलत शब्द बोलेको भए फिर्ता लिन्छु पनि भनेकै हुँ।’

आफूहरू सुदूरपश्चिममा कमल शाह नेतृत्वको सरकारमा सहभागी भइसकेकाले अब समर्थन फिर्ता लिन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्