युरोपेली बैंकहरुको शेयर उच्च विन्दुमा, भारतीय शेयर बजारले पनि अल टाइम हाईको रेकर्ड बनायो

काठमाडौं,१९ चैत । युरोपेली बैंकहरुको सेयर भाउ ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । ब्याजदर वृद्दिका कारण नाफा उच्च विन्दुमा पुगेपछि युरोपेली बैंकहरुले सेयरधनीहरुलाई उच्च लाभांश वितरण गर्ने घोषणा गरेका छन् । यसको प्रभाव बैंकहरुको सेयर भाउमा परेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ ।

‘स्टक्स युरोप ६०० बैंक इन्डेक्स’ बिहीबार ६ वर्षयताकै उच्चतम विन्दुमा पुगेको छ । ‘स्टक्स युरोप ६०० बैंक इन्डेक्स’ विगत १ वर्षमै ३४ प्रतिशतले बढिसकेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । बार्कलेजका विश्लेषकहरुका अनुसार युरोपका बैंकहरुले ‘रिटर्न अन इक्विटी’ का आधारमा १० वर्षमा पहिलो पटक अमेरिकी बैंकहरुलाई पछि पारेका छन् । युरोपियन बैंकको आधारभूत पक्षहरु पहिले भन्दा निकै बलियो अवस्थामा रहेको बार्कलेजका युरोपेली इक्विटी रणनीतिज्ञ इमानुएल काउले बताएका छन् ।

गत वर्ष समस्यग्रस्त भएको ‘क्रेडिट सुइस’ लाई एक्वायर गरेको स्विट्जरल्यान्डको ‘युबीएस ग्रुप’ को सेयर भाउ विगत १ वर्षमा ४६ प्रतिशतले बढेर सन् २००८ मार्च महिनाको भन्दा उच्चतम विन्दुमा पुगेको छ । इटालियन बैंकहरु युनिक्रेडिट र इन्टेसा सानपाओलो क्रमशः १३ र ९ वर्षकै उच्च विन्दुमा पुगेका छन् । कमजोर बैंकिङ गतिविधि र ऋणको मागमा गिरावटको बावजुद उच्च ब्याजदरका कारण युरोपेली बैंकहरुको लागि गत वर्ष सबैभन्दा लाभदायक वर्ष भएको हो ।

युरोपेली बैंकहरुको इक्विटीमा औसत प्रतिफल १३ प्रतिशत ले बढेको बार्कलेजका विश्लेषकहरुले बताएका छन् । यद्दपि, यदि युरोपेली केन्द्रीय बैंक र बैंक अफ इङ्ल्यान्डले यस वर्षको अन्त्यमा ब्याजदर कटौती गर्न थाले भने बैंकहरुको खुद ब्याज आम्दानी दबाबमा आउने सम्भावना रहेको छ । अर्कोतर्फ, ब्याजदर घट्दा बैंकिङ गतिविधि बढ्ने र इम्पेयरमेन्ट चार्जमा पनि कमी आउने भएकाले बैंकहरुको नाफामा जाने देखिएको छ ।

त्यस्तै, युरोपेली बैंकहरुले यस पटक सेयरधनीहरुलाई १ खर्ब २० अर्ब डलर भन्दा बढी रकम बराबरको लाभांश वितरण गर्ने घोषणा गरेका छन् । बैंकहरुले ७४ अर्ब डलरको लाभांश र ४७ अर्ब डलरको सेयर बाइब्याक गर्ने भएका हुन् । यो अघिल्लो आर्थिक वर्षको पूँजी प्रतिफलको तुलनामा ५४ प्रतिशत धेरै हो । बैंकहरुले उच्चदरमा लाभांश बितरण गरेका कारण बैंकको शेयर र पूँजी बजार विगत ६ वर्षयताकै उच्च विन्दुमा पुगेका छ ।

त्यस्तै भारतिय शेयर बजारले पनि अल टाइम हाईको रेकर्ड बनाएर युरोपेली शेयर मार्केटलाई पछाइ रहेको छ । अप्रिल १ मा भारतीय शेयर बजार नयाँ उच्च विन्दुमा पुगेकाे छ । साेमबार कारोबारको क्रममा, सेन्सेक्सले ७४,२५४ विन्दु र निफ्टीले २२,५२९ को स्तर छोएकाे थियाे।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्