बीआरआई कार्यान्वयनमा समस्या छैन, छिट्टै अन्तिम रुप पाउनेछः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १९ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । जनवादी चीनको साताव्यापी भ्रमण सकेर सोमबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग गफिदै भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका हुन् ।

‘मेरो भ्रमण दुई देशबिचको सम्बन्धन बलियो बनाउन महत्त्वपूर्ण भएको छ । भ्रमणले आन्तरिक श्रोत र साधनलाई कसरी वृद्धि गर्ने र विदेशी लगानी भित्र्याउने भन्नेमा छलफल केन्द्रित भएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

यस्तै उनले बीआरआई कार्यान्वयनमा कुनै समस्या नभएको भन्दै यसलाई छिट्टै अन्तिम रुप दिने बताए । चीनबाट बीआरआई अन्तर्गतको सहयोग अनुदानमा लिने कि ऋणमा लिने भन्ने विषयमा त्यति विवाद नरहेको बताउँदै उनले यस बारेमा तेस्रो फेजमा टुङ्गो लगाउने उनले बताए ।

नेपालले अनुदानमै सहयोग प्राप्त होस् भन्ने चाहेको पनि उनले धारणा राखे । ऋणमा नै भए पनि कुन कुन क्षेत्रमा कसरी लगानी गर्ने भन्ने विषय छनौट गर्ने उनको भनाइ थियो ।

साथै उनले नेपाल र चीनबिच विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समझदारी गरेको जिकिर गरे ।

यस्तै मानसरोवरमा पर्यटकलाई सहजीकरण गर्न छलफल भएको उनले जानकारी दिए । यस्तै दुई देशबिच सिधा बस सेवा सञ्चालन गर्न सहमति भएको, नेपालको कृषिको उत्पादकत्व बढाउन चिनिया पक्ष सकारात्मक रहको उनले बताए ।

नेपालमा हुन लागिएको लगानी सम्मेलनमा चिनियाँ निजी क्षेत्रको बढी लगानी भित्र्याउन अनुरोध गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्